भारतबाट आज पहिलोपटक पाइपमार्फत ईन्धन नेपाल आउँदै |

 

सिमरा : नेपाल र भारत दुबै देशको बहुप्रतिक्षित परियोजना मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनबाट शुक्रबार पहिलोपटक ईन्धन ल्याईने भएको छ ।

सन् २००४ मा सम्झौता भएर वि.सं.२०७२ सालबाट निर्माण सुरु भएको यो परियोजना निर्माण सम्पन्न भएपश्चात बिभिन्न चरणमा परिक्षण समेत सम्पन्न भएको छ ।

परियोजनाका ईन्जिनियर शरद पौडेलका अनुसार शुक्रबार बिहानसम्म अन्तिम पटक पानी पठाएर परिक्षण भैरहेको छ । पानीको परिक्षण सकिएलगत्तै पाईपमार्फत डिजल झारिने पौडेलले बताए । ‘यसको गुणस्तर र सुरक्षा जाँचका लागी बिभिन्न चरणमा परिक्षण गर्यौँ’ ईन्जिनियर पौडेलले बारा खबरसँग भने, ‘अन्तिम पटक अहिले (शुक्रबार बिहान ६ बजे) पानी पठाएर परिक्षण गर्दैछौँ त्यसलगत्तै डिजल ल्याईनेछ ।’

पौडेलका अनुसार शुक्रबार दिउसोसम्म मोतिहारीबाट पाइपमार्फत अमलेखगञ्ज डिपोमा डिजेल खस्नेछ । त्यसका लागी अमलेखगञ्ज डिपोमा चारवटा ट्यांकी तयारी अवस्थामा छन् ।

त्यसैगरी पानी परिक्षणलगत्तै आउने डिजलको अग्र भागमा पानी मिसिने भएकाले उक्त तेल अमलेखगञ्जमा निकालिएपछि प्रशोधन गरेर पानी र तेल छुट्याइने छ । त्यसको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि अमलेखगन्जमा तयारी अवस्थामा रहेको पौडेलले जानकारी दिए ।