बाराको अतिक्रमित वन फिर्ता गरिँदै

 

सिमरा : विभिन्न समयमा भएको वन अतिक्रमणलाई हटाउदै डिभिजन वन कार्यालय, बाराले अतिक्रमित जग्गा फिर्ता गराउन थालेको छ ।

जिल्लाका करिव ४० हेक्टर अतिक्रमित वनलाई पुनः वन क्षेत्र कायम गराउन सफल भएको हो ।

राजनीतिक अस्थिरता र द्वन्दको समयमा जिल्लाका विभिन्न स्थानमा करिव ४० हेक्टर वन अतिक्रमित भएको डिभिजन वन कार्यालय, बाराले जनाएको छ ।

डिभिजन वन कार्यालय, बाराले जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित चकरीमा ७.५ कोल्हवी नगर पालिकाको मधुवनमा ५ र बोधवनमा २७ हेक्टर बनक्षेत्रको अतिक्रमण हटाई पुनः वन क्षेत्र कायम गरेको छ । वन क्षेत्र कायम भएका स्थानहरुमा वृक्षारोपण समेत गरिएको कार्यालयले जनाएको छ ।

‘समुदायका अगुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र बिभिन्न सरोकारवालाहरुसंगको छलफल तथा अन्तरक्रियाबाट वल प्रयोग नगरी वन फिर्ता गराउन सफल भयौँ ।’ डिभिजन बन प्रमुख मन्जुर आलमले भने ।

अतिक्रमित जमिनमा वृक्षारोपण देखि रेखदेख गर्न समेत स्थानीयलाई जिम्मा दिईएको उनले बताए । भने, ‘अतिक्रमित वन साथै अन्य वनलाई समेत समेटेर सामुदायिक वन वनाई संरक्षण र उपोभोगका लागी स्थानियलाई नै हस्तान्तरण गर्ने कार्य भईरहेको छ ।’

अतिक्रमित वनलाई पुनःवन क्षेत्रमा कायम गरी  बिधि र प्रकृया मिलाएर समुदायलाई नै हस्तान्तरण भएकोमा स्थानीयले समेत खुसी व्यक्त गरेका छन् ।
कुल ४५ हजार हेक्टर भुभाग ओगटेको बाराको जंगल अहिले घटेर ३१ हजार हेक्टरमा सिमित भएको कार्यालयको तथ्यांकले देखाउछ । कतिपय बाराको जंगल राष्ट्रिय गौरवका आयोजना फास्टट्रयाक, दोश्रो अन्तराष्ट्रिय विमानस्थल, निकुञ्ज विस्तारले समेत ओगटेको छ । पछिल्लो ५ वर्ष यता बारामा संस्थागत र अन्य गरी ११.६४ हेक्टर जंगल अतिक्रमणको चपेटामा परेको तथ्यांकले देखाउछ ।

यति हुदा हुदै पनि समग्र मुलुकको जंगलको अवस्था भने ३९.७ प्रतिशतबाट बढेर ४४.६ प्रतिशत भएको वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।