गर्भावस्थाका जोखिम हुन् यी

गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण अवस्था हो । यस अवस्थामा जबसम्म बच्चा जन्मिदैन तबसम्म गर्भवती महिला सचेत रहनुपर्छ, तर तनाव लिनु चाहिँ हुँदैन । कुनै समस्या कसैलाई सामान्य हुन सक्छ र सोही समस्या कसैलाई जोखिमपूर्ण हुनसक्छ । जोखिमपूर्ण भएमा अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने हुन सक्छ ।

अधिकांश गर्भवतीलाई पहिलो तीन महिनामा बान्ताले सताउन सक्छ तर बान्ताकै कारण कति गर्भवतीहरुलाई पटक-पटक अस्पतालमा भर्ना गर्नु पर्छ । बान्ता रोक्ने औषधि खाएर पनि नरोकिएको अवस्थालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ ।

यस्तो स्थिति प्राय पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ । गर्भमा एकभन्दा बढी शिशु रहेमा तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि बान्ता बढी हुने गरेको देखिन्छ । यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ र यस हर्मोन बढेर शरीरमा आउने परिवर्तनले पनि धेरै वान्ता हुने गर्छ ।

सबै अवस्थामा एचसीजी हर्मोन अत्याधिक हुनुका कारण पत्ता लगाउन सकिँदैन । तर गर्भमा धेरै पानी हुने, दुई वा सोभन्दा बढी बच्चा हुने अवस्थाहरुमा यो हर्मोनको मात्रा बढेको पाइन्छ । यसबाहेक भिटामिन बी वा प्राटिनको कमी हुनु तथा मानसिक समस्याहरुले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छ ।

तर गर्भावस्थामा पनि अन्य रोग, जस्तै- पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले धेरै बान्ता गराउन सक्छ । बान्ता भइरहेमा शरीरबाट धेरै पानी तथा लवण खेर जान्छ । त्यसैले यस अवस्थामा विरामीलाई अस्पताल भर्ना गरेर नशाबाट औषधि तथा तत्व र पानी दिनुपर्ने हुन्छ ।